ताजा खबर
काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपो–बेबी ट्रेन्ड’ र ‘अनफलो अभियान’बारे खुलेर प्रतिक्रिया दिएकी छन् । दुईवटा लामो इन्स्टाग्राम भिडियोमार्फत उनले आफूलाई लागेका आरोप असत्य भएको दाबी गर्दै प्रमाणसहित प्रतिवाद गरेकी हुन् ।
श्रृंखलाले हार्वर्ड विश्वविद्यालयमा पढ्न ९६ लाख रुपैयाँ आफ्नै कमाइबाट तिरेको प्रष्ट पार्दै नेताकी छोरी भएकै कारण अवसर पाएको भन्ने धारणा अस्वीकार गरिन् । उनले ब्रान्ड इन्डोर्समेन्टबाट एक पोस्टमै साढे ३ लाख रुपैयाँसम्म कमाउने गरेको उल्लेख गर्दै, आफ्नो आय–व्यय र सम्झौता कागजात गुगल ड्राइभमार्फत सार्वजनिक गरेकी छन् ।
भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन गर्ने तर आफू ‘कोलाट्रल ड्यामेज’ बनेको बताउँदै श्रृंखलाले कर तिरेको पैसाले मोजमस्ती गरेको आरोपलाई ‘षड्यन्त्र’ र ‘बोक्सीको आरोप’सँग तुलना गरिन् ।
उनले भनिन्, “मैले पढेका स्कुलदेखि मेरो जीवनशैली सबै इन्स्टामा खुला छ । हावर्डको डिग्री मैले आफैँ फन्ड गरेको हुँ । मेरो सत्यता म आफैँ परिभाषित गर्छु, अरुले होइन ।”
साथै उनले मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’बाट आएको ५० हजार डलर हिनामिना गरेको भन्ने आरोपलाई असत्य ठहराउँदै डोनरको विवरण पनि सार्वजनिक गरेकी छन् । अनफलो अभियानबीच आफूलाई साथ दिने प्रशंसकप्रति उनले धन्यवाद पनि दिएकी छन् ।
Super Admin
>