ताजा खबर
काठमाडौं – अधिकांश जागिरेहरूलाई कम काम गरेर मनग्गे तलब पाउनु सपनाझैँ लाग्छ। तर फ्रान्सकी एक महिलाले भने कामै नपाएर केवल तलब मात्र लिनु आफूलाई ठूलो पीडा भएको भन्दै आफ्नै कम्पनीविरुद्ध मुद्दा दायर गरेकी छिन्।
डेलीमेलका अनुसार, ५९ वर्षीया लरेन्स भ्यान भासेनहोभले पछिल्लो २० वर्षदेखि कुनै काम नगरीकनै नियमित तलब पाउँदै आएकी थिइन्। तर यस अवस्थाले उनलाई ठूलो मानसिक त्रासदी भोग्नुपरेको भन्दै उनले युरोपको प्रख्यात टेलिकम कम्पनी अरेन्ज विरुद्ध कानुनी लडाइँ थालेकी हुन्।
लरेन्सले सन् १९९३ मा जनसम्पर्क सहायकका रूपमा अरेन्जमा काम सुरु गरेकी थिइन्। तर छारे रोग र हेमिप्लेजियाजस्ता रोगका कारण उनको शरीरको एक भाग पक्षघात (प्यारालाइज्ड) भएपछि उनलाई सेडेन्टरी सेक्रेटेरियल पदमा सारिएको थियो। सन् २००२ मा सरुवा मागे पनि स्वास्थ्य समस्याका कारण उनी अयोग्य ठहर भइन्। त्यसयता कम्पनीले उनलाई कार्य जिम्मेवारी नदिई केवल तलब मात्रै दिइरहेको थियो।
लरेन्सका अनुसार, नियमित तलब आए पनि कार्यस्थलबाट सदैव टाढा राख्ने र बेला–बेला जागिरबाट निकाल्ने चेतावनी दिने जस्ता व्यवहारले उनलाई बहिष्कृत कर्मचारीझैँ बनाइयो। उनले भनिन्, “काम नपाएर घरमै बस्नु कुनै विशेषाधिकार होइन, बरु ठूलो मानसिक पीडा हो।”
दुई सन्तानकी आमा रहेकी लरेन्सले कम्पनीको यस्तो व्यवहारले आफ्नो अस्तित्व नै अस्वीकार गरिएको महसुस भएको बताएकी छन्।
तर अरेन्ज कम्पनीले भने लरेन्सको आरोप अस्वीकार गर्दै उनको व्यक्तिगत तथा सामाजिक अवस्थालाई ध्यानमा राखेर कार्यभार नथोपरेको स्पष्टिकरण दिएको छ। कम्पनीका अनुसार, उनलाई पुनः काममा फर्काउने प्रयास भए पनि लगातार बिरामी विदामा रहँदा त्यो सम्भव हुन सकेन।
यो मुद्दाले काम, स्वास्थ्य समस्या र रोजगार अधिकारबीचको सम्बन्धलाई लिएर फ्रान्समा नयाँ बहस चर्काउने अनुमान गरिएको छ।
Super Admin
>