ताजा खबर
संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी पूर्वराजदूत निक्की हेलीले भारत–अमेरिका सम्बन्ध अहिले संवेदनशील मोडमा पुगेको टिप्पणी गरेकी छन्। उनका अनुसार यदि अमेरिकाले चीनको ‘वैश्विक महत्वाकांक्षा’लाई नियन्त्रण गर्न चाहन्छ भने भारतसँगको सम्बन्ध सकेसम्म छिटो सुधार गर्नुपर्नेछ।
न्यूजवीकमा प्रकाशित आफ्नो लेखमा हेलीले रूसी तेल र ट्यारिफ विवादका कारण दुबै देशबीच बढ्न थालेको तनावलाई खतरनाक संकेत बताएकी छन्।
उनले लेखेकी छन्, “चीनको सामना गर्नका लागि अमेरिकालाई भारतजस्तो साथी अपरिहार्य छ। जति भारत बलियो बन्छ, त्यति चीनको महत्वाकांक्षा कमजोर हुन्छ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रूसबाट तेल आयात जारी राखेको भन्दै भारतीय सामानमा ५० प्रतिशतसम्म शुल्क बढाउने निर्णय गरेपछि सम्बन्ध तनावपूर्ण बनेको हो। भारतले भने आफ्नो ऊर्जा आवश्यकता पूरा गर्न रुसबाट तेल लिनुपर्ने बताउँदै उपयुक्त समयमा जवाफ दिने चेतावनी दिएको छ।
हेलीले भारतले रूसी तेल खरिद गर्दा अप्रत्यक्ष रूपमा युक्रेनविरुद्ध रुसको युद्धलाई सहयोग गर्ने कुरा स्वीकार गरेकी छन्, तर अमेरिकाले भारतलाई शत्रुजस्तो व्यवहार नगर्न सुझाव दिएकी छन्।
उनले चेतावनी दिँदै भनेकी छन्, “एशियामा चीनको प्रभुत्वलाई चुनौती दिन सक्ने एक मात्र शक्ति भारत हो। त्यस्तो अवस्थामा २५ वर्षको प्रगति नष्ट हुनु रणनीतिक दुर्घटना हुनेछ।”
हेलीले वाशिङ्टनका आर्थिक र सुरक्षा लक्ष्यहरू भारतसँगको सहकार्यबिना सफल नहुने भन्दै राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच प्रत्यक्ष संवादको सुझाव दिएकी छन्।
उनका अनुसार, भारतको उदय चीनको आर्थिक उभारपछि देखिएको सबैभन्दा महत्वपूर्ण भूराजनीतिक विकास हो। त्यसैले उनले जोड दिइन्, “यदि तत्काल सम्बन्ध सुधार भएन भने चीनले यो दरारको फाइदा उठाउनेछ।”
समाप्तिमा उनले सन् १९८२ मा रोनाल्ड रेगनले इन्दिरा गान्धीसँग भनेका शब्द दोहोर्याउँदै लेखेकी छन् : “वाशिङ्टन र नयाँदिल्ली कहिलेकाहीँ फरक बाटोमा हिँड्न सक्छन्, तर उनीहरूको गन्तव्य एउटै हुनुपर्छ।”
Super Admin
>